काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरण सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले शुक्रबार कीर्तिपुरस्थित बोर्डको केन्द्रीय कार्यालयमा पदाधिकारीसँग भएको छलफलका क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन्।
बैठकमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवर्द्धनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र संस्थागत सुधारका विषयमा छलफल भएको थियो।
मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सक्रिय र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
उनले चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तय गर्ने र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनःसंरचनासम्बन्धी मोडालिटीलाई अन्तिम रूप दिन गठन हुने कार्यदललाई दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएकी छन्।