देशभर वर्षाको सम्भावना, ७ प्रदेशमा सतर्कता

7.2k Shares

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा शनिबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै बाढी, पहिरो र गेग्रान बहावको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका बाँकी अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली छ। बागमतीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

रातिको समयमा पनि मौसम बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने जनाएको छ। साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार