तनावग्रस्त मधेशमा केन्द्रको चासो, एआईजी ठाडामगर र श्रेष्ठ जनकपुर पठाइए
1.9k
Shares
काठमाडौँ । मधेश प्रदेशका केही जिल्लामा बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई जनकपुर पठाएको छ।
सुरक्षा स्रोतका अनुसार सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगर र नेपाल प्रहरीका एआईजी हिमालयकुमार श्रेष्ठलाई जनकपुर खटाइएको हो। उनीहरूले धनुषा, सिरहा, महोत्तरी, सर्लाहीलगायत जिल्लाको समग्र सुरक्षा अवस्थाको अनुगमन तथा समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
त्यसैगरी नेपाल प्रहरीका एसएसपी होविन्द्र बोगटीलाई समेत जनकपुर पठाइएको छ। स्थानीय सुरक्षा निकायसँग समन्वय गरी शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई खटाइएको सुरक्षा स्रोतले जनाएको छ।
सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन, विरोध र तनाव बढ्दै गएपछि गृह प्रशासनले सुरक्षा सतर्कता उच्च बनाएको छ। धनुषा, सिरहालगायत जिल्लामा निषेधाज्ञा तथा कर्फ्युजस्ता सुरक्षा उपायसमेत अपनाइएको छ।
उच्च सुरक्षा अधिकारीहरूको जनकपुर उपस्थितिलाई प्रदेशको सुरक्षा अवस्था स्थिर राख्ने तथा सम्भावित अप्रिय घटना रोक्न गरिएको विशेष सुरक्षा व्यवस्थापनको हिस्साका रूपमा हेरिएको छ।