मनसुन सक्रिय, तीन प्रदेशका पहाडमा भारी वर्षाको सम्भावना
1.7k
Shares
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सम्भावित वर्षासँगै बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश र लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली देखिएको छ।
अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थानमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसैगरी, कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षा हुने सम्भावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने जनाएको छ। साथै, यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालासँग अनुरोध गरेको छ।