घटनाको दोष सिंगो समुदायलाई थोपर्न मिल्दैन, दोषीमाथि कडा कारबाही हुन्छ :प्रधानमन्त्री

1.2k Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत जिल्लामा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार शान्ति–सुरक्षा कायम गर्न पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन्।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट समवेदना व्यक्त गरे।

‘म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु,’ प्रधानमन्त्री शाहले भने, ‘देशको कुनै एक स्थानमा भएको दुःखद् घटनालाई आधार बनाएर सिंगो समुदायलाई दोषी ठहर गर्नु र त्यसको प्रतिशोधका नाममा अन्य स्थानमा हिंसा फैलाउनु कुनै पनि दृष्टिले उचित हुन सक्दैन।’

उनले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालना गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले संविधानको मर्मअनुसार सबै नागरिकको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याए।

प्रधानमन्त्री शाहले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए।

घटना भएको लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय घटनास्थलमा परिचालन भएर थप अप्रिय घटना हुन नदिन र शान्ति–सुरक्षा कायम गर्न निरन्तर खटिएको उनले बताए।

घटनाको निष्पक्ष अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

‘यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न जो–कोही भए पनि कानुनी कारबाहीबाट उम्किन पाउने छैन,’ उनले भने।

प्रधानमन्त्रीका अनुसार अवस्था थप तनावपूर्ण नबनोस्, जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण कायम होस् भन्ने उद्देश्यका साथ सरकारले निरन्तर पहल गरिरहेको छ।

यसका लागि केन्द्रमा सर्वदलीय बैठक बोलाएर राजनीतिक दलहरूसँग छलफल गरिएको तथा स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा र समुदायका नेतृत्वकर्तासँग निरन्तर संवाद भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहले गृहमन्त्री स्वयं सुरक्षा निकायका उच्च अधिकारीसहित प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी दिँदै पीडित पक्षसँग प्रत्यक्ष संवाद, शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउने र परिस्थितिको अनुगमन गर्ने काम भइरहेको बताए।

साथै, देशभरको शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णयसमेत गरिसकिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबै नागरिकलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार