राष्ट्रपति पौडेलको आह्वान : सामाजिक सद्भाव, पारस्परिक सहिष्णुता र राष्ट्रिय एकता जोगाऔँ
1.4k
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले देशमा विकसित पछिल्लो परिस्थितिप्रति सबैलाई संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, पारस्परिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन्।
बिहीबार जारी सन्देशमा राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजको सबैभन्दा ठूलो शक्ति आपसी सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकता भएको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेका छन्।
राष्ट्रपतिले संविधान र कानुनी शासनको मर्मअनुसार समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै शान्ति, संयम र संवादको माध्यमबाट वर्तमान चुनौतीको सामना गर्नुपर्ने बताएका छन्। साथै उनले नागरिकलाई अफवाह र उत्तेजनाबाट टाढा रहन तथा सामाजिक एकता सुदृढ बनाउन आ–आफ्नो स्थानबाट योगदान गर्न अपिल गरेका छन्।
सुनसरी घटनापछि कोशी र मधेश प्रदेशका केही जिल्लामा तनाव बढिरहेका बेला राष्ट्रपतिको यो सन्देश आएको हो। पछिल्ला घटनाक्रमका कारण विभिन्न पक्षबीच संवाद, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्ने आवश्यकता अझ बढेको सन्दर्भमा उनको आह्वानलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।