सबै नेपाली मिलौं, सामाजिक सद्भाव जोगाऔं : पूर्वराजा

1k Shares

काठमाडौँ । ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा देखिएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यही विविधताभित्रको एकता नेपालको पहिचान र गौरव रहेको बताएका छन्।

उनले नेपाली समाज परापूर्वकालदेखि नै आपसी प्रेम, सद्भाव र सहअस्तित्वका आधारमा अघि बढ्दै आएको उल्लेख गर्दै सामाजिक, धार्मिक वा सांस्कृतिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्।

पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको असर कोशी प्रदेश र तराईका विभिन्न जिल्लासम्म फैलिएकोप्रति दुःख व्यक्त गरेका छन्।

सन्देशमा नेपाललाई विभिन्न समुदायबीच सामञ्जस्य कायम रहेको देशका रूपमा चिनिने उल्लेख गर्दै यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य, मान्यता र सामाजिक सहअस्तित्वविपरीत भएको बताएका छन्।

उनले सन्देशमा भनेका छन्, ‘समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भू–भागमा रहे–बसेका जो कोही पनि हामी नेपाली मिलौं। हाम्रो यही आग्रह छ। यही आजको आवश्यकता हो।’

सन्देशको अन्त्यमा पूर्वराजा शाहले देशका सबै भूभागमा बसोबास गर्ने नेपालीलाई एकताबद्ध भई मेलमिलाप, आपसी विश्वास र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै वर्तमान परिस्थितिमा यही सबैभन्दा ठूलो आवश्यकता रहेको बताएका छन्।

सम्बन्धित समाचार