सुनसरीपछि मधेश अशान्त : सिरहा र धनुषामा कर्फ्यु

694 Shares

काठमाडौँ, साउन १४ गते। सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव मधेश प्रदेशका अन्य जिल्लासम्म फैलिएको छ। सिरहापछि धनुषाका विभिन्न संवेदनशील क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न जिल्लाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको जनाएको छ। प्रशासनले स्थानीयवासीलाई कर्फ्यु अवधिमा घरबाहिर ननिस्कन आग्रह गर्दै सुरक्षा निकायको निर्देशन पालना गर्न अपिल गरेको छ।

यसअघि सिरहामा पनि तनाव बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। सुनसरीको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका भ्रामक सामग्री फैलिन थालेपछि केही स्थानमा प्रदर्शन र झडपको अवस्था सिर्जना भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गर्नुका साथै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरेको थियो। अहिले सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गए पनि त्यसको प्रभाव छिमेकी जिल्लाहरूमा देखिएको छ।

धनुषा र सिरहामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्य बजार, धार्मिक स्थल तथा संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ। प्रशासनले कुनै पनि प्रकारका भेला, जुलुस वा उत्तेजक गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेको छ।

गृह प्रशासनले परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा तथा सर्वपक्षीय प्रतिनिधिसँग समन्वय गरी शान्ति र सामाजिक सद्भाव कायम राख्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रशासनले अफवाह वा अपुष्ट सूचना सामाजिक सञ्जालमार्फत प्रसार नगर्न आग्रह गर्दै आधिकारिक सूचनामात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यकताअनुसार कर्फ्यु आदेशमा परिवर्तन वा हटाउने निर्णय गरिने प्रशासनको भनाइ छ।

सम्बन्धित समाचार