प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त पक्राउ
1.7k
Shares
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मि पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ।
एसियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जाको दुरुपयोग प्रकरणमा उनको संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीले जनाएको छ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत केही वित्तीय कारोबार, कर्जा स्वीकृति प्रक्रिया तथा व्यवस्थापकीय निर्णयसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ।
४८ करोडको कर्जा दुरुपयोग आरोप
अनुसन्धानका अनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। तर बैंकका नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा स्वीकृत गरिएको र उक्त रकम तोकिएको प्रयोजनमा खर्च नगरी कम्पनी अध्यक्ष शशिधर शर्मासँग सम्बन्धित व्यक्ति तथा समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा कर्जा दुरुपयोग भएको निष्कर्ष निकाल्दै अनुसन्धानका लागि सिआइबीलाई सिफारिस गरेको थियो।
सोही प्रतिवेदनका आधारमा सिआइबीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर असार ३० गते एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको थियो। उनी हाल बैंकिङ कसुर मुद्दामा सिआइबीको हिरासतमा छन्।
बैंकका उच्च नेतृत्वमाथि पनि अनुसन्धान
सिआइबीले यो प्रकरणमा प्रभु बैंकका तत्कालीन उच्च व्यवस्थापन र सञ्चालक तहसम्म अनुसन्धान विस्तार गरेको छ।
गत कात्तिक २२ गते सिआइबीले प्रभु बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। त्यसपछि तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसहित अन्य उच्च पदस्थ अधिकारीमाथि अनुसन्धान अघि बढाइएको थियो।
करिब एक अर्ब रुपैयाँ हिनामिनाको आरोप
प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ। प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि सिआइबीले भट्टचन, शेरचनलगायतमाथि अनुसन्धान सुरु गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट प्रभु म्यानेजमेन्ट प्रालिमार्फत करिब एक अर्ब रुपैयाँ हिनामिना भएको खुलेको सिआइबीको दाबी छ। अनुसन्धानका क्रममा विसं २०६९ मंसिरदेखि २०८१ जेठसम्म करिब तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरका ‘सुपर एजेन्ट’ बनाइ धरौटीबापत उठाइएको रकम दुरुपयोग गरिएको आशंका गरिएको छ।
सिआइबीले कर्जा स्वीकृति प्रक्रिया, बैंकका निर्णयकर्ता र सम्बन्धित वित्तीय कारोबारको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।