अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, ७ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध
1.3k
Shares
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमका कारण केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको अवस्थाबारे जानकारी दिँदै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गतको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै कान्तिलोकपथमा पनि जोखिमलाई मध्यनजर गर्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।
यसैबीच देशका विभिन्न स्थानमा पहिरो, सडक कटान र हिलाम्मेका कारण सातवटा प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि सवारी आवागमन ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यसैगरी दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाले सडक कटान गर्दा आवागमन रोकिएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने जाजरकोट–डोल्पा सडक अन्तर्गत मूलपानी खोलाको बाढीले सडक बगाउँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।