गुरु पूर्णिमा र व्यास जयन्ती आज, गुरुप्रति श्रद्धाभाव व्यक्त गरिँदै

1.4k Shares

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा पर्व श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, ज्ञान र संस्कार प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ।

धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अर्थात् अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो दिने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दु धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूपका रूपमा सम्मान गरिएको छ।

यसै सन्दर्भमा प्रचलित श्लोक:

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।

ले गुरुको सर्वोच्च स्थानलाई व्याख्या गर्छ।

गुरुलाई माता–पितासरह सम्मान गर्ने परम्पराअनुसार ‘आचार्यदेवो भव’ भन्ने मान्यता पनि प्रचलित छ। यही अवसरमा देशभरका विद्यालय, गुरुकुल तथा विभिन्न संघ–संस्थाले आफ्ना गुरुजनलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेका छन्।

आजै व्यास जयन्ती पनि

गुरु पूर्णिमाकै दिन वेदव्यासको जन्मजयन्ती अर्थात् व्यास जयन्ती पनि मनाइन्छ।

वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्नुका साथै १८ पुराण, १८ उपपुराण तथा महाभारतको रचना गरेको धार्मिक विश्वास छ। त्यसैले उहाँलाई हिन्दु दर्शनका महान् ऋषि र ज्ञानपरम्पराका प्रमुख आचार्यका रूपमा सम्मान गरिन्छ।

व्यासले पुराणमार्फत दिएको सन्देश:

अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।

परोपकारः पुण्याय, पापाय परपीडनम् ।।

को अर्थ अरूको उपकार गर्नु पुण्य र अरूलाई दुःख दिनु पाप हो भन्ने मानवीय सन्देश रहेको मानिन्छ।

विशेष कार्यक्रम आयोजना

गुरु पूर्णिमाका अवसरमा देशभरका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।

यसैक्रममा नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौंको चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गुरु पूर्णिमाको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्वबारे चर्चा गरिने फाउन्डेसनका अध्यक्ष तथा पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिएका छन्।

 
 
सम्बन्धित समाचार