सुनसरी घटनामा प्रधानमन्त्री शाहको प्रतिबद्धता– दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ
1.2k
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे।
‘प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशको नागरिकका रूपमा पनि सुनसरीमा भएका घटनाबाट म दुःखी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले लेखेका छन्।
प्रधानमन्त्री शाहले सरकारले मृतकका परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय र सुधारका कदम चालिने बताएका छन्।
साथै उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्याग्दै संयम अपनाउन आग्रह गरेका छन्।
‘मनमा रिस, डर वा आक्रोश भए पनि उत्तेजित हुने वा गराउने कुनै गतिविधिमा सहभागी नहुनुहोस्। सुरक्षित, संयमित र जिम्मेवार भएर सामाजिक सद्भाव कायम राखौँ,’ उनले अपिल गरेका छन्।
प्रधानमन्त्रीले नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै त्यसमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।