देशभर मनसुनी प्रभाव कायम, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

1.7k Shares

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले बुधबार पनि विभिन्न प्रदेशमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि सक्रिय बनेको हो।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका हिमाली र पहाडी भूभागसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने जनाइएको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेश प्रदेशका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सडक यात्रामा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 
 
 
सम्बन्धित समाचार