मुग्लिङ–नारायणगढ सडकमा सुक्खा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध
1.7k
Shares
चितवन । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा मंगलबार बिहान सुक्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजार नजिकै अचानक पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।
सडक खुलाउन प्रहरी, सडक डिभिजन कार्यालय भरतपुर र सम्बन्धित निकायको समन्वयमा पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ। हाल दुई वटा जेसिबी प्रयोग गरेर पहिरो हटाउने कार्य जारी रहेको छ भने थप एउटा मेसिन पनि घटनास्थलतर्फ पठाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पुनः पहिरो नझरेको अवस्थामा अबको एकदेखि दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सडक अवरुद्ध हुँदा देशका विभिन्न गन्तव्यतर्फ हिँडेका हजारौँ यात्रु तथा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई धैर्यधारण गर्न तथा सडक सञ्चालनसम्बन्धी आधिकारिक सूचना पछ्याउन आग्रह गरेको छ।