अर्थमन्त्री वाग्लेले उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै
1.9k
Shares
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज प्रमुख उद्योगपतिसँग छलफल गर्ने भएका छन्।
उद्योग क्षेत्रका सुझाव संकलन र बजेट कार्यान्वयनका चुनौतीबारे संवाद गर्न उनले उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका झण्डै तीन दर्जन उद्योगपतिलाई अर्थ मन्त्रालयमा बोलाएका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ शीर्षकमा आयोजना गरिएको कार्यक्रम आज दिउँसो ३ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुनेछ।
छलफलमा अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद दवाडी तथा अर्थ मन्त्रालयका विभिन्न महाशाखा र विभागका उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ।
सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरिरहेका बेला निजी क्षेत्रसँग प्रत्यक्ष संवादमार्फत उद्योग–व्यवसायका समस्या, लगानी विस्तारका अवरोध र बजेटमा समेटिएका कार्यक्रम कार्यान्वयनका उपायबारे सुझाव लिने उद्देश्यले यो छलफल आयोजना गरिएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न निजी क्षेत्रका छाता संगठन र व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए। ती भेटघाटमा अर्थमन्त्री डा. वाग्ले सहभागी नभएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीसमेत भएका थिए। त्यसलगत्तै अर्थमन्त्री वाग्लेले भने बजेट कार्यान्वयनलाई केन्द्रमा राख्दै उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद सुरु गर्न लागेका हुन्।