आज पनि देशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
2.2k
Shares
काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले मंगलबार पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानकै आसपास रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहने भएको हो।
हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
रातिको समयमा हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, सुदूरपश्चिम र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास बसोबास गर्ने, पहिरो जोखिम भएका क्षेत्रमा यात्रा गर्ने तथा बाढी प्रभावित क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।