काठमाडौं । किसानका धानबारीका प्राकृतिक सहयोगी मानिने घुँगीफोर गरुड यतिबेला बचेरा कोरल्ने र हुर्काउने मौसममा व्यस्त छन्। तराई–मधेशका विभिन्न जिल्लामा यी चराहरू गुँडमा बचेरा स्याहार्दै देखिएका छन् भने चितवनको बाटुली ताल क्षेत्रमा यस वर्ष सबैभन्दा धेरै गुँड फेला परेका छन्।
वरिष्ठ चराविद् तथा संरक्षणकर्मी लक्ष्मण पौड्यालका अनुसार समूहमा बस्न रुचाउने घुँगीफोर गरुडको सबैभन्दा ठूलो बासस्थान चितवनको बाटुली ताल क्षेत्रमा रहेको छ। यस वर्ष त्यहाँ ४३३ वटा गुँड भेटिएको र अधिकांशमा बचेरा रहेको उनले जानकारी दिए।
एक जोडी घुँगीफोर गरुडले सामान्यतया दुईदेखि तीन वटासम्म बचेरा कोरल्ने गर्छ। अहिले भाले–पोथी मिलेर बचेरालाई चारा खुवाउने, स्याहार गर्ने र हुर्काउने मनमोहक दृश्य गुँड भएका क्षेत्रमा देख्न सकिन्छ।
वन, सिमसार, रामसार क्षेत्र तथा किसानका खेतबारी आसपास बस्न रुचाउने यो चराले धानबारीमा पाइने घुँगी, माछा, भ्यागुता, सर्पलगायत साना जलचरको सिकार गर्ने भएकाले खेत प्राकृतिक रूपमा गोडिन मद्दत पुग्ने संरक्षणकर्मीहरू बताउँछन्। घुँगी बढी खाने भएकाले यसको नाम नै ‘घुँगीफोर गरुड’ राखिएको हो।
तर पछिल्ला वर्षहरूमा खेतबारीमा रासायनिक विषादीको अत्यधिक प्रयोगका कारण यो चरा संकटमा पर्न थालेको चराविद्हरूको भनाइ छ। हाल कञ्चनपुर, कैलाली, कपिलवस्तु, रुपन्देही, चितवन, सिराहा, सर्लाही, सप्तरी, झापा, इलामलगायत जिल्लामा यसको उल्लेख्य बसोबास रहेको छ।
हालै नेपाल पन्छीविद् सङ्घको नेतृत्वमा गरिएको गणनामा चितवनको बाटुली ताल क्षेत्रमा चार प्रजातिका कुल ४४० सक्रिय गुँड भेटिएका थिए। तीमध्ये ४३२ वटा घुँगीफोर गरुडका गुँड रहेका थिए भने पाँच वटा ओरिएन्टल डार्टर तथा एसियन वुलिनेक र लेसर ह्विस्लिङ डकका एक–एक वटा सक्रिय गुँड फेला परेका थिए।
करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको बाटुली तालभित्रका ९७ वटा अग्ला तथा सुकेका रुखमा घुँगीफोरले गुँड बनाएका छन्। पानीको बीचमा रहेका ती रुखका गुँड जमिनका सिकारी जनावरबाट सुरक्षित रहने भएकाले यहाँ ठूलो संख्यामा प्रजनन हुने गरेको अनुमान गरिएको छ।
चराविद्हरूका अनुसार नेपालभर घुँगीफोर गरुडको संख्या एक हजारदेखि पाँच हजारको बीचमा रहेको अनुमान छ। यसले सिमसार क्षेत्रको सरसफाइ, खेतबारीमा प्राकृतिक रूपमा गोडमेल, हानिकारक जीव नियन्त्रण तथा पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्दै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।