काठमाडौँ । केही साताअघिसम्म लगातार जित निकाल्दै आईसीसी विश्वकप लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाएको नेपाल अहिले भने उही प्रतियोगितामा लगातार दुई हारसँगै दबाबमा परेको छ।
नेदरल्यान्ड्समा जारी त्रिदेशीय सिरिजमा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग समान १५७ रनमै समेटिँदै पराजित भएपछि नेपालको लय मात्र होइन, सोझै विश्वकप छनोट खेल्ने सम्भावनामाथि पनि प्रश्न उठेको छ।
नेपालले अघिल्ला दुई सिरिजमा आठमध्ये ६ खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको थियो। ओमान र यूएईविरुद्धको सिरिजमा चारमध्ये तीन खेल जितेको नेपालले त्यसपछि अमेरिका र स्कटल्यान्डजस्ता शीर्ष टोलीलाई समेत पराजित गर्दै फेरि तीन जित निकालेको थियो। त्यसक्रममा २० खेलबाट १२ अंकमा रहेको नेपाल २८ खेलपछि २४ अंकमा पुगेको थियो।
ती सिरिजमा नेपालको ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिएको थियो। ओपनर कुशल भुर्तेलले शतकसहित लय समातेका थिए भने इशान पाण्डेले तेस्रो नम्बरमा सम्भावना देखाएका थिए।
दीपेन्द्रसिंह ऐरीले ब्याट र बल दुवैबाट निर्णायक योगदान दिएका थिए। बलियो अमेरिकालाई सहजै पराजित गरेपछि नेपाल शीर्ष चारभित्र रहेर सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने दौडमा मजबुत देखिएको थियो। तर, नेदरल्यान्ड्स पुगेपछि नेपाली टोलीको प्रदर्शन एकाएक कमजोर बनेको छ।
नेपालभन्दा तल रहेको नामिबियाविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुदेखि नै दबाबमा परेको थियो। नियमित अन्तरालमा विकेट गुमाएको नेपाल १५७ रनमै अलआउट भयो।
कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३०, करण केसीले १८ र आशिफ शेखले १६ रन बनाए। कुशल भुर्तेल भने दुई रनमै आउट भए। नामिबियाका जेजे स्मिथले ६ विकेट लिएर नेपालको ब्याटिङ धराशायी बनाए।
कम स्कोर जोगाउने जिम्मेवारी बलरमाथि आए पनि नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन। नामिबियाले ३७.४ ओभरमै दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै आठ विकेटको सहज जित दर्ता गर्यो।
पहिलो खेलको हारपछि दबाबमा रहेको नेपालले दोस्रो खेलमा पनि ब्याटिङमा सुधार गर्न सकेन। फेरि १५७ रनमै समेटिएको नेपालका लागि आरिफ शेखले ४१, गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१ र आशिफ शेखले १४ रन बनाए। कुशल भुर्तेल फेरि ठूलो इनिङ खेल्न असफल भए।
बलिङमा ललित राजवंशीले किफायती प्रदर्शन गर्दै १० ओभरमा २२ रन खर्चिएर एक विकेट लिए पनि अन्य बलरले प्रभाव छाड्न सकेनन्। नेदरल्यान्ड्सले ४४.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दै नेपाललाई लगातार दोस्रो हार चखायो।
लगातार दुई हारपछि नेपालको शीर्ष चारमा रहेर सोझै विश्वकप छनोट खेल्ने सम्भावना निकै कमजोर बनेको छ। ३० खेलबाट २४ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ। समान २४ अंक भए पनि नामिबियाले एक खेल कम खेलेको छ भने क्यानडाको पनि २४ अंक नै छ।
हाल अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्डको ३८, नेदरल्यान्ड्सको ३४ र ओमानको ३१ अंक छ।
नेपालका अब लिग–२ मा ६ खेल बाँकी छन्। सबै खेल जिते पनि नेपालको अधिकतम ३६ अंक मात्रै पुग्नेछ। त्यसबीच नेदरल्यान्ड्सले बाँकी सातमध्ये दुई खेल वा ओमानले आठमध्ये तीन खेल जिते नेपाल शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना रहनेछ।
लिग–२ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् र अर्को चक्रका लागि एकदिवसीय मान्यता पनि सुरक्षित रहनेछ।
पाँचौँदेखि आठौँ स्थानमा रहने टोली भने विश्वकप क्वालिफायर प्लेअफमा झर्नुपर्नेछ। त्यहाँ च्यालेन्ज लिगबाट आएका चार टोलीसँग प्रतिस्पर्धा हुनेछ। आठ टोलीमध्ये शीर्ष चारमा पर्न सके मात्रै एकदिवसीय मान्यता जोगिने र विश्वकप छनोटको यात्रा कायम रहनेछ।
यसपटकको प्रतियोगितामा रेलिगेसनको ढाँचा परिवर्तन भएकाले नेपालका लागि बाँकी प्रत्येक खेल 'गर या मर' को अवस्थामा पुगेको छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्धका बाँकी खेल तथा त्यसपछि अक्टोबरमा हुने ओमान र क्यानडाविरुद्धको सिरिजले नेपालको भविष्य निर्धारण गर्नेछ।