रसुवा दुर्घटना : नदीमा खसेको गाडी र चालकको खोजी दोस्रो दिन पनि जारी

1.7k Shares

रसुवा : रसुवाको भोटेकोसी नदीमा शनिबार साँझ खसेको विद्युतीय गाडी (इभी) र त्यसका चालकको खोजी आइतबार बिहानदेखि पुनः सुरु गरिएको छ। दुर्घटनामा चालक कालिका गाउँपालिका–३ का २२ वर्षीय सविन तामाङ बेपत्ता भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार चीनबाट आयात गरी भन्सार जाँचपासपछि काठमाडौंतर्फ ल्याइँदै गरिएको इभी गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित चलिमे जलविद्युत् केन्द्रअगाडिको सडकबाट अनियन्त्रित भई भोटेकोसी नदीमा खसेको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ गृहमन्त्री सुदन गुरुङसहित जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थल पुगेका थिए। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए।

शनिबार राति करिब १० बजेसम्म दुर्घटनास्थलदेखि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना–२१६ को ड्याम क्षेत्रसम्म ड्रोनको समेत प्रयोग गरी खोजी गरिएको थियो। तर गाडी र चालकको अवस्था पत्ता लाग्न नसकेको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार आइतबार बिहानदेखि सुरक्षा निकायले नदी क्षेत्रमा पुनः खोज तथा उद्धार अभियान तीव्र बनाएका छन्। बेपत्ता चालक र नदीमा खसेको इभीको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार