एक वर्षमा नेपालमा १२ लाख विदेशी पर्यटक, चौथाइ भारतीय

2.4k Shares

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा नेपालमा १२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सो अवधिमा १२ लाख ९ हजार ६७७ विदेशी पर्यटक नेपाल आएका छन्, जसमा भारतबाट मात्रै ३ लाख ११ हजार ५३१ पर्यटक आएका छन्। यो कुल आगमनको २५.७६ प्रतिशत हो।

भारतपछि नेपाल आउने पर्यटकको सूचीमा संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा रहेको छ। अमेरिकाबाट १ लाख ११ हजार ३२५ पर्यटक नेपाल आएका छन् भने चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक आएका छन्।

त्यसपछि बङ्गलादेश, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, भुटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसिया प्रमुख स्रोत मुलुकका रूपमा रहेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटक असोज–कात्तिक (मध्य अक्टोबरदेखि मध्य नोभेम्बर) को अवधिमा आएका थिए । त्यस अवधिमा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल प्रवेश गरेका थिए। यस्तै, फागुन–चैत र माघ–फागुनमा पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ।

पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा सञ्चालन गरिएका ४० भन्दा बढी प्रवर्द्धन कार्यक्रम, भारतका प्रमुख सहरहरूमा भएका प्रचार अभियान, हवाई सम्पर्क विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको जनाएको छ।

आगामी आर्थिक वर्षमा पनि पर्यटन प्रवर्द्धन अभियानलाई थप प्रभावकारी बनाउँदै विदेशी पर्यटक आगमन बढाउने लक्ष्य लिइएको बोर्डले जनाएको छ।

सम्बन्धित समाचार