प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा आइतबार बिहान १:५० बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
हालसम्म मृतकहरूको पहिचान खुल्न नसकेको र शव जिल्ला अस्पताल तौलिहवामा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घटनापछि बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ खैरागार निवासी २१ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।