नयाँ राहदानी प्रणाली सुधारोन्मुख, दैनिक छपाइ क्षमता १,३०० प्रतिमा पुग्यो

1.5k Shares

काठमाडौं । विद्युतीय राहदानी व्यवस्थापन तथा छपाइका लागि लागू गरिएको नयाँ प्रणाली क्रमशः सुधार हुँदै गएको सरकारले जनाएको छ।

गत असार २९ गते फ्रान्सेली प्रविधिबाट जर्मन प्रविधिमा प्रणाली स्थानान्तरण गरेपछि देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार राहदानी सेवा जनमुखी, सरल र प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध छ। उनका अनुसार देशका ७७ जिल्ला, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट राहदानी सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।

उनले परीक्षण अवधिमा देखिएका प्राविधिक समस्या समाधान गर्न प्राविधिक टोली निरन्तर खटिएको र सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न काम भइरहेको बताए।

हालसम्म ८ हजारभन्दा बढी राहदानी वितरण

मन्त्रालयका अनुसार नयाँ प्रणाली लागू भएयता हालसम्म ८ हजार २६० वटा राहदानी छपाइ गरी वितरण गरिएको छ। सुरुआती दिनमा दैनिक करिब १०० प्रति मात्रै छाप्न सकिएकोमा अहिले दैनिक १,३०० प्रति राहदानी छपाइ गर्ने क्षमतामा पुगेको मन्त्रालयले जनाएको छ।

जर्मनीबाट प्राविधिक टोली नेपालमा

राहदानी विभागका प्रवक्ता दीपक बन्जाडेका अनुसार नयाँ प्रणालीमा नेपालको ठूलो परिमाणको तथ्यांक र व्यक्तिगत विवरण सफलतापूर्वक स्थानान्तरण भए पनि नियमित राहदानी छपाइ र आवेदन व्यवस्थापनमा अझै केही प्राविधिक सुधार आवश्यक छ।

उनका अनुसार त्यसका लागि जर्मनीबाट उच्चस्तरीय प्राविधिक टोली नेपाल आएर विभागसँग मिलेर सफ्टवेयरमा देखिएका समस्या समाधान गरिरहेको छ।

"सफ्टवेयरमा देखिएका समस्या कोडिङ र प्रणालीगत सुधारमार्फत मात्रै समाधान गर्न सकिन्छ। त्यसैले प्राविधिक टोलीसँग समन्वय गरेर सेवा प्रवाहलाई थप सहज बनाउने काम भइरहेको छ," बन्जाडेले भने।

विद्यार्थीको चाप बढ्ने तयारी

राहदानी विभागले अब वैदेशिक अध्ययनका लागि विद्यार्थी विदेश जाने सिजन सुरु हुन लागेकाले आवेदनको चाप अझ बढ्ने अनुमान गरेको छ। त्यसलाई ध्यानमा राख्दै प्रणालीलाई स्थिर र भरपर्दो बनाउने काम तीव्र पारिएको विभागले जनाएको छ।

नयाँ प्रणालीमार्फत अनलाइन आवेदन र अन्य सेवामा केही सेवाग्राहीले असहजता भोगे पनि ती समस्या क्रमशः समाधान हुँदै गएको विभागको दाबी छ।

आवेदनमा कडाइ, सेवा विस्तारको तयारी

प्राविधिक समस्या थप नबढोस् भनेर विभागले हाल आवेदन स्वीकृतिको प्रक्रियामा केही कडाइ गरेको जनाएको छ। विभागका अनुसार प्रणाली स्थिर बन्दै गएसँगै आवेदन संख्या पनि क्रमशः बढाइनेछ।

बन्जाडेका अनुसार जर्मनीबाट थप प्राविधिक जनशक्ति आएपछि समस्या समाधान गर्ने काम छिटो र प्रभावकारी बनेको छ। उनले हालसम्म छापिएका राहदानीमा कागज, सुरक्षा फिचर वा अन्य प्राविधिक गुणस्तरसम्बन्धी कुनै गुनासो नआएको पनि जानकारी दिए।

दैनिक एक हजारभन्दा बढी राहदानी छपाइ

राहदानी विभागका अनुसार नयाँ प्रणाली लागू भएको पहिलो दिन १६९ वटा राहदानी छापिएको थियो। त्यसपछि हरेक दिन एक हजारभन्दा बढी राहदानी छापिँदै आएको छ।

गत मङ्गलबार देशभरका लागि १,०४७ वटा र बुधबार १,१०० वटा राहदानी छापिएको विभागले जनाएको छ।

यसअघि पुरानो प्रणालीमा दैनिक न्यूनतम २,५०० आवेदन लिने र अधिकतम ६,००० राहदानी छपाइ तथा वितरण गर्ने क्षमता रहेको थियो।

विभागले नयाँ प्रणालीलाई सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा पूर्ण रूपमा सहज सञ्चालन गर्न आवश्यक सफ्टवेयर अद्यावधिक गर्ने काम निरन्तर भइरहेको जनाएको छ।

सोही कारण केही जिल्ला प्रशासन कार्यालय र नेपाली नियोगमा आवेदन प्रमाणीकरण प्रक्रिया सामान्यभन्दा केही ढिलो भएको विभागले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार