काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेकाले देशभर मौसम प्रभावित बनेको हो।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
महाशाखाले विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले यात्रा र दैनिक गतिविधिमा सावधानी अपनाउन सुझाव दिइएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने भएकाले सम्भावित विपद्बाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।