खसीको मासुमा अस्वाभाविक मूल्यवृद्धि

2.2k Shares

काठमाडौं । केही महिनाअघिसम्म काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा प्रतिकिलो १,००० देखि १,३०० रुपैयाँसम्ममा बिक्री हुने खसीको मासु अहिले १,७०० देखि १,८०० रुपैयाँसम्म पुगेपछि उपभोक्ता महँगीको थप मारमा परेका छन्।

दसैं–तिहारजस्ता चाडपर्वमा मात्र मूल्य बढ्ने खसीको मासु अहिले सामान्य समयमा नै महँगिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। करिब पाँच सय रुपैयाँसम्मको एक्कासि मूल्यवृद्धिले उपभोक्ता, किसान र सरकारी निकायलाई समेत प्रश्नको घेरामा उभ्याएको छ। उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले त्यसअनुसारको लाभ नपाएको भन्दै बजारमा बिचौलियाको प्रभाव बढेको आरोप लागेको छ।

उपभोक्ता मूल्य सुनेर झस्किए

भक्तपुरको बालकोटका गोविन्द गौतम तीन महिनाअघि प्रतिकिलो १,३०० रुपैयाँमा खरिद गरेको खसीको मासु अहिले १,८०० रुपैयाँ पुगेको देखेर अचम्ममा परे। पसलेले खसीको अभाव भएको बताए पनि गौतम भने त्यसमा विश्वस्त छैनन्।

उनले भने, "यदि खसी अभाव भएको हो भने किसानले पनि बढी मूल्य पाउनुपर्ने हो।"

काठमाडौंको खिचापोखरीका सुमित बिसुन्खेले एक किलो मासुमा एकैपटक पाँच सय रुपैयाँ बढ्नु सामान्य विषय नभएको बताए। उनका अनुसार यही अवस्था रहे सामान्य परिवारका लागि खसीको मासु किन्न कठिन हुनेछ।

लाजिम्पाटका विश्वबन्धु घिमिरेले पनि मूल्यवृद्धिको सबैभन्दा बढी असर मध्यम तथा न्यून आय भएका परिवारमा परेको बताए।

चार तहका बिचौलियाले बढाइरहेका छन् मूल्य

व्यावसायिक बाख्रापालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्यवृद्धिको मुख्य कारण उत्पादनमा कमीभन्दा पनि बजारमा बिचौलियाको अत्यधिक प्रभाव हो।

उनका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा चार तहका व्यापारी हुँदै पुग्छ। सुरुमा स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि संकलनकर्ताले अर्को व्यापारीलाई बिक्री गर्छन्। त्यहाँबाट थोक व्यापारी हुँदै मासु पसलमा पुग्ने खसी अन्ततः उपभोक्तासम्म आइपुग्छ। प्रत्येक चरणमा नाफा थपिँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको सुवेदीको भनाइ छ।

उनका अनुसार किसानले जिउँदो खसीको प्रतिकिलो करिब ६०० देखि ७०० रुपैयाँ मात्रै पाउँछन्। जिउँदो तौलको करिब ६० प्रतिशत मात्रै मासु हुने भएकाले केही लागत बढ्नु स्वाभाविक भए पनि हालको खुद्रा मूल्य त्यसको तुलनामा निकै बढी रहेको उनको दाबी छ।

उत्पादन पर्याप्त, मूल्य भने असन्तुलित

पशु सेवा विभागका अनुसार नेपालमा हाल करिब एक करोड ६० लाख खसीबाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ्दै जाँदा देश खसीको मासुमा आत्मनिर्भर हुने चरणमा पुगेको विभागको तथ्यांकले देखाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालले उत्पादनको अवस्था हेर्दा हाल देखिएको मूल्यवृद्धि अस्वाभाविक रहेको बताए।

भारततर्फ तस्करी भएको आशंका

नेपाल–भारत खुला सीमाका कारण नेपाली खसी भारततर्फ तस्करी भइरहेको हुन सक्ने आशंका पनि गरिएको छ। भारतमा खसीको मासुको मूल्य प्रतिकिलो करिब एक हजार भारतीय रुपैयाँ पुगेकाले मूल्य अन्तरको फाइदा उठाउँदै केही व्यापारीले नेपाली खसी सीमापार लैजाने गरेको व्यवसायीहरूको भनाइ छ।

यद्यपि यस सम्बन्धमा आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन।

विभागको अनुगमन तीव्र

उपभोक्ताबाट गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजार तथा मासु पसलमा अनुगमन तीव्र पारेको जनाएको छ।

विभागका सूचना अधिकारी अनिल किरातीले अभावको बहाना बनाएर अस्वाभाविक मूल्य असुलेको पाइए कानुनअनुसार कारबाही गरिने बताए।

उनले उपभोक्तालाई अनुचित मूल्य लिएको जानकारी विभागमा गराउन पनि आग्रह गरेका छन्।

कृत्रिम अभाव देखाएर मूल्य बढाइएको आरोप

मासु व्यवसायी वसन्त शर्माका अनुसार बजारमा दैनिक खसीको आपूर्ति केही घटेको भए पनि त्यसलाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाइएको छ।

उनले बजारको मूल्य केही सीमित व्यापारीको नियन्त्रणमा पुगेको दाबी गर्दै किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने बताए।

अधिकारकर्मी सुमन बाँस्कोटाका अनुसार अहिलेको समस्या उत्पादनको अभावभन्दा पनि बजार व्यवस्थापनसँग सम्बन्धित छ। पर्याप्त उत्पादन हुँदाहुँदै किसानले उचित मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाले कृषि बजारमा बिचौलियाको प्रभाव अझै बलियो रहेको स्पष्ट संकेत गरेको उनले बताए।

सम्बन्धित समाचार