आज हरिशयनी एकादशी, तुलसी पूजा र चतुर्मास व्रत आजदेखि सुरु

1.7k Shares

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। सनातन वैदिक परम्पराअनुसार आजदेखि घर–घरमा तुलसीको बिरुवा तुलसी मोठमा सारेर विशेष पूजा–आराधना सुरु गरिन्छ। आजबाट प्रारम्भ हुने यो पूजा कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म चार महिनासम्म सञ्चालन हुने परम्परा छ।

धर्मशास्त्रअनुसार ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। यो चार महिनाको अवधिलाई चतुर्मास पनि भन्ने गरिन्छ।

एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत गर्ने चलन छ। धेरै व्यस्त रहने वा लामो समय व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीका दिन विशेष रूपमा फलाहार गरी व्रत बस्ने परम्परा रहेको छ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ मन्दिर, उपत्यकाका चार नारायण मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार सेवन गर्ने धार्मिक परम्परा छ।

धार्मिक महत्त्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र केही रोगजन्य जीवाणुको प्रभाव कम गर्न सहयोग पुर्‍याउने देखाएको छ। त्यसैले घरमा तुलसी रोप्ने परम्परालाई धार्मिक मात्र होइन, स्वास्थ्य र वातावरणीय दृष्टिले पनि उपयोगी मानिन्छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदर (विष्णु)सँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी विवाहसँगै चतुर्मास व्रतको समापन गरिने र हवनसहित विशेष धार्मिक अनुष्ठान सम्पन्न गर्ने परम्परा रहेको छ।

सम्बन्धित समाचार