चार महिनापछि वीरगन्ज नाकाबाट रासायनिक मल आयात सुरु

2.8k Shares

वीरगन्ज । करिब चार महिनापछि वीरगन्ज नाका हुँदै रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ। बिहीबार साँझदेखि वीरगन्ज भन्सार कार्यालयअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहमा रेलमार्फत डिएपी मल आउन थालेसँगै मल आपूर्तिमा सुधार हुने अपेक्षा गरिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार ३० हजार मेट्रिक टन डिएपी मल आपूर्तिको ठेक्का पाएको भारतको आइपिएल कम्पनीले तेस्रो मुलुकबाट आयात गरेको मल वीरगन्ज नाका हुँदै नेपाल ल्याउन थालेको हो।

बिहीबार साँझ कृषि सामग्री कम्पनीका लागि २५ हजार बोरा (एक हजार २५० मेट्रिक टन) डिएपी मल र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका लागि ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) डिएपी मल वीरगन्ज आइपुगेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्ज शाखाका प्रमुख अमोज लामिछानेका अनुसार आइपिएल कम्पनीले पठाउने ३० हजार मेट्रिक टन डिएपीमध्ये पहिलो चरणमा दुई हजार पाँच सय मेट्रिक टन आइपुगेको छ भने बाँकी परिमाण दुई–तीन दिनभित्र नेपाल आइपुग्नेछ।

प्रमुख पाण्डेका अनुसार भारतको आइपिएल कम्पनीले तेस्रो मुलुकबाट आयात गरेको ३० हजार मेट्रिक टन युरिया तथा आदित्य बिर्ला कम्पनीले ओमान र कतारबाट ल्याएको ६० हजार मेट्रिक टन युरिया एक साताअघि नै भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ। ती मल बोरामा प्याकिङ गरी साउनको अन्तिम सातादेखि भदौको पहिलो सातासम्म नेपाल भित्र्याइने तयारी गरिएको छ।

उनका अनुसार सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गतको ३० हजार मेट्रिक टन डिएपी र २० हजार मेट्रिक टन युरिया मल पनि नेपाल आउने क्रममा रहेको छ। यस्तै, साल्ट ट्रेडिङका प्रमुख लामिछानेले सन इन्टरनेसनलमार्फत आपूर्ति हुने ३० हजार मेट्रिक टन युरिया पनि कोलकाता बन्दरगाहमा पुगिसकेको र उक्त मल साउनको अन्तिम सातादेखि भदौको पहिलो सातासम्म नेपाल आइपुग्ने जानकारी दिए।

लामो समयदेखि रासायनिक मलको अभाव झेलिरहेका किसानका लागि मल आयात पुनः सुरु हुनु राहतको विषय बनेको छ। सरकारले आगामी केही साताभित्र पर्याप्त परिमाणमा मल उपलब्ध गराउने तयारी गरेसँगै धानबालीलगायत खेतीपातीमा मल अभावको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार