काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य उल्लेख्य रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो सातामा केही तरकारीको मूल्य पाँच गुणासम्म बढेको छ।
समिताका अनुसार सबैभन्दा धेरै मूल्य तनेबोडीको बढेको छ। त्यसपछि तितेकरेला, भन्टा, घिउ सिमी र विभिन्न प्रकारका सागको मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार तरकारीको माग उच्च रहेको समयमा आपूर्ति घटेकाले मूल्य बढेको हो। नियमित रूपमा बजारमा आउने तरकारी समयमै नपुग्दा केही तरकारी बिग्रने र फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएकाले मूल्यमा थप दबाब परेको उनले बताए।
कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यका अनुसार उपत्यकामा तरकारी आपूर्ति गर्ने प्रमुख जिल्ला चितवन, मकवानपुर तथा तराईका अन्य क्षेत्रमा धान रोपाइँ सम्पन्न भएपछि त्यहाँबाट तरकारीको आपूर्ति घटेको छ। यही कारण बजारमा तरकारीको भाउ क्रमशः उकालो लागेको उनले बताए।
उनका अनुसार ती क्षेत्रमा नयाँ तरकारी उत्पादन हुन केही समय लाग्ने भएकाले असोज–कात्तिकसम्म तरकारीको मूल्य उच्च रहने सम्भावना छ।
हाल कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट तरकारी आपूर्ति भइरहेको समितिले जनाएको छ। तर उत्पादन र आपूर्तिमा कमी आएपछि उपभोक्ताले अधिकांश हरियो तरकारी किन्न बढी मूल्य तिर्नुपर्ने अवस्था बनेको छ।