काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेको घटनाप्रति सार्वजनिक रूपमा माफी मागेका छन्।
मोटरसाइकलको पछाडि उभिएर भिडियो खिच्दै जोखिमपूर्ण यात्रा गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनको व्यापक आलोचना भएको थियो। त्यसपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका हुन्।
उनले लेखेका छन्, "बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाकमजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।"
गुप्ताले भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाउँदै आफ्नो जोस, ऊर्जा र जिम्मेवारी देश तथा जनताको हितमा समर्पित गर्ने वाचा पनि गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियम पालना गर्नुपर्ने भन्दै उनको उक्त भिडियोको व्यापक आलोचना भएको थियो।