सुर्खेतमा बढ्दो डेंगी जोखिम: पाँच वर्षमा ७ हजारभन्दा बढी संक्रमित
1.4k
Shares
सुर्खेत । सुर्खेतमा पछिल्ला वर्षहरूमा डेंगी संक्रमणको जोखिम निरन्तर बढ्दै गएको छ। परीक्षणको दायरा विस्तार भएसँगै संक्रमितको संख्या पनि बर्सेनि वृद्धि भइरहेको तथ्यांकले देखाएको छ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्ला पाँच आर्थिक वर्षमा जिल्लाभर ४९ हजार ८११ जनामा डेंगी परीक्षण गरिएकोमा ७ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका सबैभन्दा बढी जोखिममा रहेको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै वीरेन्द्रनगरमा १ हजार ९२३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। प्रदेशको प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र भएकाले बढ्दो जनघनत्वसँगै संक्रमणको जोखिम पनि बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
जनस्वास्थ्य सेवा कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक उदय विसीका अनुसार सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण सेवा विस्तार भएकाले वास्तविक संक्रमितको पहिचान बढेको हो।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५३० जनामा परीक्षण गर्दा ९९६ जनामा संक्रमण पुष्टि भएको थियो। २०७९/८० मा ८ हजार ४१६ जनाको परीक्षण गर्दा १ हजार ४८४ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै, २०८०/८१ मा ८ हजार ९५२ जनाको परीक्षण गर्दा ५७१ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि संक्रमण फेरि बढ्दै २०८१/८२ मा १६ हजार ३१६ जनामध्ये १ हजार ९१८ र २०८२/८३ मा १४ हजार ५९७ जनाको परीक्षण गर्दा २ हजार २०७ जनामा डेंगी पुष्टि भएको छ।
स्वास्थ्यकर्मीका अनुसार डेंगी संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया चारदेखि सात दिनभित्र उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा डाबर आउने तथा पेटसम्बन्धी समस्या देखिन सक्छ।
वरिष्ठ मलेरिया निरीक्षक विसीका अनुसार एउटै प्रकारको डेंगी भाइरसबाट दोहोरिने संक्रमण नहुने भए पनि अर्को प्रकारको भाइरसबाट पुनः संक्रमण हुन सक्छ, जुन अझ बढी जटिल र जोखिमपूर्ण हुन सक्छ। त्यसैले लक्षण देखिएलगत्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनले आग्रह गरेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार साउनदेखि असोजसम्म डेंगी संक्रमणको उच्च जोखिम रहने भएकाले यस अवधिमा डेंगी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, परीक्षण किट वितरण, निजी स्वास्थ्यकर्मीलाई तालिम, समुदायस्तरमा जनचेतना तथा 'सर्च एन्ड डिस्ट्रोय' अभियानमार्फत लामखुट्टे हुर्किने स्थान नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।
स्क्रब टाइफस, मलेरिया र कालाजारको जोखिम पनि कायम
डेंगीसँगै सुर्खेतमा अन्य किटजन्य रोगको जोखिम पनि कायम रहेको छ। पछिल्ला पाँच वर्षमा २६ हजार ६९३ जनामा स्क्रब टाइफस परीक्षण गर्दा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ८३ हजार ५०५ जनामा मलेरिया परीक्षण गर्दा १४५ जनामा संक्रमण देखिएको छ भने ९ हजार ६७४ जनामा कालाजार परीक्षण गर्दा २३३ जनामा रोग पुष्टि भएको छ।
औलोको जोखिम पनि पूर्ण रूपमा हटिनसकेको तथ्यांकले देखाएको छ। पाँच वर्षमा ७३ हजार ३७ जनाको औलो परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीहरूले घर तथा कार्यालय वरिपरि पानी जम्न नदिने, पानी संकलन हुने भाँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने र ज्वरो आएमा स्वयं औषधि सेवन नगरी तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन सबैलाई आग्रह गरेका छन्।