नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढी थपियो
2.3k
Shares
काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म देशको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड १५ लाख रुपैयाँ पुगेको हो।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार आर्थिक वर्षको सुरुआतमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण एक वर्षमै विनिमय दरमा भएको नोक्सानीसहित ३ खर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको छ। हालको कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत बराबर पुगेको छ।
कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ (५३.७७ प्रतिशत) बाह्य ऋण र १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ (४६.२३ प्रतिशत) आन्तरिक ऋण रहेको प्रतिवेदनमा उल्लेख छ।
सरकारले गत आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको भए पनि असार मसान्तसम्म ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र प्राप्त भएको छ, जुन वार्षिक लक्ष्यको ७५.०७ प्रतिशत हो।
प्राप्त ऋणमध्ये ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ (८०.२१ प्रतिशत) आन्तरिक र ८८ अर्ब ५० करोड रुपैयाँ (१९.७९ प्रतिशत) बाह्य ऋण रहेको छ। आन्तरिक ऋण परिचालन लक्ष्यको ९९.०८ प्रतिशत पुगे पनि बाह्य ऋण प्राप्ति भने लक्ष्यको ३७.८८ प्रतिशतमा सीमित भएको छ।
यता, सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरेको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चका लागि छुट्याइएको ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँमध्ये ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरिएको छ, जुन विनियोजित बजेटको ९३.९७ प्रतिशत हो।
त्यसमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गरिएको छ, जसमा २ खर्ब ५० अर्ब ५६ करोड रुपैयाँ साँवा र ६१ अर्ब ३७ करोड रुपैयाँ ब्याज समावेश छ। बाह्य ऋणतर्फ ७४ अर्ब २८ करोड रुपैयाँ भुक्तानी गरिएको छ, जसमा ६१ अर्ब ८४ करोड रुपैयाँ साँवा र १२ अर्ब ४४ करोड रुपैयाँ ब्याज रहेको छ।
समग्रमा सरकारले एक वर्षमा ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ साँवा र ७३ अर्ब ८२ करोड रुपैयाँ ब्याज गरी कुल ३ खर्ब ८६ अर्बभन्दा बढी ऋण सेवा खर्च गरेको छ। यो खर्च देशको कुल गार्हस्थ्य उत्पादनको ५.८५ प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले वैदेशिक विनिमय दरमा आएको परिवर्तनले पनि सार्वजनिक ऋणको भार उल्लेखनीय रूपमा बढाएको जनाएको छ। विनिमय दरमा आएको प्रतिकूल प्रभावका कारण मात्रै सार्वजनिक ऋणमा ६.२४ प्रतिशत वृद्धि भएको र कुल ऋण वृद्धिमध्ये ५५.५१ प्रतिशत हिस्सा विनिमय दरको प्रभावबाट भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।