हिमालदेखि तराईसम्म पुग्यो फोरजी र टुजी नेटवर्क

1.7k Shares

काठमाडौं । नेपाल टेलिकमले दुर्गम तथा सेवा पहुँचभन्दा बाहिर रहेका क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने अभियानलाई तीव्र बनाएको छ। कम्पनीले हिमाली र तराईका विभिन्न विकट बस्तीमा पहिलोपटक उच्च गतिको इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध गराउँदै डिजिटल पहुँच विस्तारलाई नयाँ चरणमा पुर्‍याएको छ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपाल टेलिकमले हुम्लाको केर्मी, नुवाकोटका जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराका भगवानपुर र मधुरिजाब्दी लगायतका दुर्गम क्षेत्रमा टुजी (2G) र फोरजी (4G) सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो।

मन्त्रालयका अनुसार यी क्षेत्रमा लामो समयदेखि भरपर्दो दूरसञ्चार सेवा नहुँदा स्थानीय बासिन्दा सञ्चार, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवा पहुँचमा कठिनाइ भोग्दै आएका थिए। अब नयाँ सेवा सञ्चालनसँगै स्थानीय नागरिकले उच्च गतिको इन्टरनेट, मोबाइल फोन सेवा तथा डिजिटल माध्यमबाट विभिन्न सरकारी र निजी सेवा सहज रूपमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले सेवा विस्तारलाई ‘डिजिटल नेपाल’ अभियानसँग जोड्दै देशका भौगोलिक रूपमा कठिन र दुर्गम बस्तीमा पनि आधुनिक सञ्चार पूर्वाधार पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार दूरसञ्चार पहुँच विस्तारले सूचना प्रविधिमा आधारित सेवा, अनलाइन शिक्षा, टेलिमेडिसिन, डिजिटल बैंकिङ तथा विपद्का बेला आपत्कालीन सञ्चार प्रणालीलाई समेत थप प्रभावकारी बनाउनेछ।

विशेषगरी हिमाली जिल्लाका बासिन्दाले लामो समयदेखि स्थिर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको अभाव झेल्दै आएका थिए। सेवा सञ्चालनसँगै स्थानीय व्यवसाय, पर्यटन प्रवर्द्धन, सीमा क्षेत्रको सञ्चार सञ्जाल सुदृढीकरण तथा सरकारी सेवाको पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

सरकारले आगामी दिनमा अझै सेवा नपुगेका बस्तीमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ। त्यसका लागि नेपाल टेलिकममार्फत नयाँ बेस स्टेसन निर्माण, नेटवर्क स्तरोन्नति तथा उच्च गतिको इन्टरनेट सेवा विस्तारलाई निरन्तर अघि बढाइने मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार