अर्ग्यानिक क्षेत्रको विकासबारे प्रधानमन्त्री शाहले सुने व्यवसायीका सुझाव

1.4k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा अर्ग्यानिक क्षेत्रका व्यवसायीहरूसँग जैविक कृषि उत्पादन, प्रशोधन, बजारीकरण र उपभोग प्रवर्द्धनका विषयमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा नेपालमा अर्ग्यानिक खेतीको विस्तार, गुणस्तरीय उत्पादन वृद्धि, प्रशोधन उद्योगको विकास तथा स्वदेशी अर्ग्यानिक उत्पादनलाई प्रतिस्पर्धी बनाउने विषयमा विचार–विमर्श भएको हो।

संघका पदाधिकारीहरूले अर्ग्यानिक क्षेत्रका वर्तमान चुनौती, उत्पादन लागत, प्रमाणीकरण प्रक्रिया, बजारीकरण तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक सरकारी सहयोगबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले जैविक कृषि प्रवर्द्धनका लागि स्पष्ट नीति, सहुलियत तथा प्रोत्साहन कार्यक्रम आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि नेपालको कृषि क्षेत्रको दीगो विकास, खाद्य सुरक्षा, वातावरण संरक्षण तथा किसानको आय वृद्धि गर्न महत्वपूर्ण हुने बताउँदै सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सकारात्मक रहेको धारणा राख्नुभएको बताइएको छ।

छलफलमा जैविक उत्पादनको गुणस्तर अभिवृद्धि, उपभोक्तामा विश्वास बढाउने व्यवस्था तथा स्वदेशी अर्ग्यानिक उत्पादनको आन्तरिक र अन्तर्राष्ट्रिय बजार विस्तारका उपायबारे पनि विचार आदानप्रदान भएको थियो।

सम्बन्धित समाचार