पीडितको न्याय सुनिश्चित गर्न माइतीघरमा विरोध प्रदर्शन

1.3k Shares

काठमाडौं। सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग तत्काल गठन गरी संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन माग गर्दै सरोकारवाला, द्वन्द्वपीडित तथा अधिकारकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले लामो समयदेखि आयोग गठनमा भइरहेको ढिलाइले द्वन्द्वपीडितले न्याय पाउने अधिकार प्रभावित भएको बताएका छन्। उनीहरूले सत्य, न्याय, परिपूरण र जवाफदेहिताको सुनिश्चितताका लागि आयोगलाई शीघ्र गठन गरी प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड र नाराबाजीमार्फत पीडितमैत्री संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउन, पीडितको सहभागिता सुनिश्चित गर्न तथा राजनीतिक हस्तक्षेपबाट मुक्त आयोग गठन गर्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रूपमा रहेको संक्रमणकालीन न्यायलाई थप विलम्ब नगरी अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशअनुसार अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। आयोग गठनको प्रक्रिया शीघ्र अघि नबढाइए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि प्रदर्शनकारीहरूले दिएका छन्।

सम्बन्धित समाचार