धनगढी । डा. गोविन्द केसीले आफ्नो २४औँ आमरण अनसन सुरु गर्न कैलालीको धनगढी पुगेपछि सुदूरपश्चिममा उनको विरोध सुरु भएको छ। उनले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनसन सुरु गर्ने तयारी गरेका छन्।
डा. केसीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पाँच बुँदे माग राख्दै ती पूरा गर्न सरकारले दिएको समयसीमा ५ साउनसम्म बेवास्ता गरेपछि बाध्य भएर अनसनमा बस्न लागेको बताएका छन्।
तर, उनको अनसनको मुख्य विषयमध्ये एक शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित माग भएपछि सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट असन्तुष्टि व्यक्त हुन थालेको हो।
नागरिक अगुवा मदन भट्टले सामाजिक सञ्जालमार्फत डा. केसीले दशकौँदेखि सुदूरपश्चिमवासीले देखेको स्वास्थ्य विज्ञान विश्वविद्यालयको सपनामाथि प्रहार गर्न खोजेको आरोप लगाएका छन्। देशका अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुँदा विरोध नगर्ने तर गेटामा विश्वविद्यालय बन्न लाग्दा विरोध गर्नु अस्वाभाविक भएको उनको टिप्पणी छ।
ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्तले पनि अनसनका लागि धर्मशालाको स्थान उपलब्ध नगराउन आग्रह गर्दै डा. केसीलाई अपमानित हुनुभन्दा अघि नै सुदूरपश्चिमबाट फर्किन सुझाव दिएका छन्।
धनगढीकै तीर्थराज ओझाले गेटामा बन्न लागेको विश्वविद्यालयको काम अवरुद्ध पार्ने प्रयास स्वीकार्य नहुने भन्दै डा. केसीलाई ससम्मान काठमाडौं फर्काउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन माफिया र तिनका मतियारहरूको स्वार्थअनुसार हतारहतार ल्याइएको आरोप लगाएका छन्। उनका अनुसार यदि राज्यलाई मेडिकल विश्वविद्यालय आवश्यक थियो भने त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयमा रूपान्तरण गर्न सकिन्थ्यो।
उनले गेटामा नयाँ संरचना थोपारेर विवादित प्रावधानमार्फत निश्चित व्यक्तिलाई उपकुलपति र रजिस्ट्रार नियुक्त गर्ने उद्देश्य राखिएको भन्दै यसमा व्यापारिक र राजनीतिक स्वार्थ लुकेको दाबी गरेका छन्।
उनका मागहरूमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति तत्काल बदर गर्ने, विश्वविद्यालय ऐनका विवादित प्रावधान संशोधन गर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्ने, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्ने तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने विषय समेटिएका छन्।
त्यस्तै, सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा आत्मनिर्भर बनाउने पूर्वाधार विस्तार गर्न, २३ र २४ भदौ २०८२ का हत्या, आगजनी र लुटपाट घटनाका दोषीलाई कारबाही गर्न तथा २०४६ सालयताका उच्चपदस्थ व्यक्तिहरूको भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनले माग गरेका छन्।
डा. केसीको अनसन सुरु हुनुअघि नै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई लिएर सुदूरपश्चिममा समर्थन र विरोध दुवै पक्ष सक्रिय बनेका छन्। यस्तो अवस्थामा उनको २४औँ अनसनले चिकित्सा शिक्षा र गेटा विश्वविद्यालयको बहसलाई फेरि राष्ट्रिय राजनीतिक एजेन्डाको केन्द्रमा ल्याएको छ।