अर्ग्यानिक उत्पादन र बजार विस्तारबारे आज प्रधानमन्त्रीसँग व्यवसायीको छलफल

1.4k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धन सम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा लगायत अर्ग्यानिक क्षेत्रसँग आबद्ध व्यवसायीहरूको सहभागिता रहनेछ। साथै गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य पनि सहभागी हुने कार्यक्रम रहेको छ।

बैठकमा जैविक कृषि उत्पादनको विस्तार, प्रशोधन उद्योगको विकास, अर्ग्यानिक उत्पादनको बजारीकरण तथा यस क्षेत्रका समस्या, चुनौती र सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल अर्ग्यानिक संघले लामो समयदेखि देशमा जैविक कृषि उत्पादनको विस्तार, प्रशोधन उद्योगको विकास तथा अर्ग्यानिक उत्पादनको बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, कृषि तथा निजी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालासँग नियमित संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिँदै आएका छन्।

सम्बन्धित समाचार