गण्डकी । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न सेवा शुल्कमा छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुने र नयाँ वायुसेवा कम्पनी आकर्षित हुने अपेक्षा गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारको निर्णयले पोखरा–दुबईसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी भित्र्याउन महत्वपूर्ण आधार तयार हुने बताए। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।
यसैबीच फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सीधा उडान सुरु गर्ने तयारी गरेको छ। दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले उक्त उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग प्रत्यक्ष जोड्ने विश्वास गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुबईले टिकट बुकिङ पनि खुला गरिसकेको छ। उनले यसबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका गन्तव्यमा यात्रा गर्ने यात्रुलाई समय र खर्च दुवै बचत हुने बताए।
पोखराबाट सिधै अन्तर्राष्ट्रिय उडान सञ्चालन हुँदा विदेशी पर्यटकलाई पर्यटकीय राजधानी पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ। साथै वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई पनि यो सेवा लाभदायी हुने विश्वास गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाइ दुबईलाई दैनिक दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विशेष कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो।
झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। हालसम्म छिमेकी केही देशमा चार्टर उडानबाहेक विमानस्थल मुख्यतः आन्तरिक उडानमै सीमित रहेको छ।