दसैँ–तिहारपछि कलंकी–बसुन्धारा चक्रपथ विस्तार सुरु हुने

2.2k Shares

काठमाडौं । काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत दोस्रो चरणको कलंकी–बसुन्धारा ८.२ किलोमिटर खण्डको निर्माण कार्य दसैँ–तिहारलगत्तै सुरु हुने तयारी भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले आफ्नै देशमा टेन्डर प्रक्रिया पूरा गरी निर्माण अघि बढाउने तयारी गरिरहेको परियोजना कार्यालयले जनाएको छ।

योजना प्रमुख आशिका पोखरेलका अनुसार मुख्य एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ, जसको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। केही स्थानमा कालोपत्रे गर्न मात्र बाँकी रहेको उनले जानकारी दिइन्।

kalanki-basundhara-sadak-9.jpg

मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ। नेपाल पक्षले आवश्यक सुझाव तथा टिप्पणी दिइसकेको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको पोखरेलले बताइन्। उनका अनुसार मनसुन र चाडपर्वपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

उनले चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण कार्य छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरिन्। साइट क्लियरेन्समा ढिलाइ, घरटहरा तथा रूखबिरुवा हटाउने प्रक्रिया र कोभिड–१९ महामारीका कारण परियोजना तीनदेखि चार वर्ष पछाडि धकेलिएको उनको भनाइ छ। पछिल्लो समय भने आवश्यक पत्राचार, सर्वेक्षण र डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनले बताइन्।

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ रहे पनि मुद्रास्फीति र डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ। अन्तिम डिजाइन स्वीकृत भएपछि संशोधित लागत सार्वजनिक गरिने परियोजनाले जनाएको छ।

पोखरेलका अनुसार पहिलो चरणको अनुभवका आधारमा दोस्रो चरणमा देखिन सक्ने सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानका लागि प्राविधिक अध्ययन र तयारी गरिएको छ। चिनियाँ पक्षले पनि तोकिएको समयभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उनले बताइन्।

निर्माण अवधिमा सर्वसाधारणले केही समय ट्राफिक तथा आवागमनमा असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन परियोजना कार्यालयले आग्रह गरेको छ।

kalanki-basundhara-sadak-11.jpg

सम्बन्धित समाचार