देशभर बर्डफ्लु नियन्त्रणमा, नयाँ सङ्क्रमण शून्य,

1.4k Shares

चितवन । देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि नभएको र हाल रोग नियन्त्रित अवस्थामा रहेको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१, सुन्दरीजलमा बर्डफ्लु पुष्टि भएको थियो। त्यसयता नयाँ सङ्क्रमण नदेखिएको र प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी परीक्षणलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो।

यस वर्ष चैत ४ गते मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गरेको थियो। सङ्क्रमण मुख्यतः कमर्सियल लेयर्स कुखुरामा देखिए पनि प्यारेन्ट स्टक, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत फैलिएको थियो।

हालसम्म ११ जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।

विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौं उपत्यका र काभ्रेमा मात्रै तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

सरकारले प्रभावित किसानलाई राहत उपलब्ध गराउने कार्य पनि तीव्र बनाएको छ। महानिर्देशक दाहालका अनुसार ५२ करोड रुपैयाँ व्यवस्थापन गरिएकामध्ये हालसम्म १०४ जना किसान तथा फर्मलाई ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत वितरण गरिएको छ।

देशभरका पशु रोग अन्वेषण प्रयोगशालाले परीक्षणलाई निरन्तरता दिइरहेका छन्। सरकारको सक्रियता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सफल भएको विभागको भनाइ छ। सङ्क्रमण घटेसँगै कुखुराको मासु र अण्डाको खपत तथा मूल्यमा सुधार आउन थालेपछि किसान पनि राहत महसुस गर्न थालेका छन्।

सम्बन्धित समाचार