काठमाडौं । लगातार छ दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातौं कारोबार दिन सामान्य करेक्सनतर्फ गएको छ। बुधबार नेप्से १३ अंकले घट्दै बजारमा नाफा सुरक्षित गर्ने प्रवृत्ति देखिएको हो।
पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न थालेपछि नेप्सेमा सामान्य गिरावट आएको विश्लेषकहरूको भनाइ छ। सूचकमा कमी आए पनि कारोबार रकम भने उल्लेख्य रह्यो।
बुधबारको कारोबारमा ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोबार रकमले बजारमा लगानीकर्ताको सक्रियता अझै कायम रहेको संकेत गरेको छ।
कारोबार अवधिमा अधिकांश उपसूचकहरूमा मिश्रित अवस्था देखिएको थियो। केही कम्पनीको सेयर मूल्य बढे पनि बैंकिङ, जलविद्युत्, विकास बैंक तथा वित्त समूहका केही कम्पनीमा बिक्री दबाब देखिएपछि समग्र परिसूचक ओरालो लागेको हो।
शेयर बजार विश्लेषकहरूका अनुसार लगातारको वृद्धिपछि बजारमा यस्तो करेक्सन स्वाभाविक प्रक्रिया हो। उनीहरूका अनुसार करेक्सनले बजारलाई थप सन्तुलित बनाउने भएकाले यसलाई नकारात्मक रूपमा लिन नहुने धारणा छ।
लगानीकर्ताले आगामी मौद्रिक नीति, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण, लाभांश अपेक्षा तथा समग्र आर्थिक गतिविधिलाई आधार बनाएर लगानी गरिरहेको देखिएको छ। यही कारण बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम उच्च रहनु सकारात्मक संकेतका रूपमा हेरिएको छ।
विश्लेषकहरूले बजारको आगामी दिशा आर्थिक नीति, लगानीकर्ताको मनोबल र सूचीकृत कम्पनीहरूको वित्तीय नतिजामा निर्भर रहने बताएका छन्। उनीहरूले लगानीकर्तालाई हल्लाको भरमा निर्णय नगरी कम्पनीको आधारभूत अवस्था र दीर्घकालीन सम्भावनाको अध्ययन गरेर मात्रै लगानी गर्न सुझाव दिएका छन्।