ईभी ‘ई–मास ५’ नेपालमा, पहिलो १०० ग्राहकलाई विशेष मूल्य

820 Shares

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको नयाँ विद्युतीय स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) ‘ई–मास ५’ नेपाली बजारमा सार्वजनिक गरिएको छ।

प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ ईभी सार्वजनिक गरेको हो।

कम्पनीले ई–मास ५ को आधारभूत संस्करणको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने प्रिमियम संस्करणको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ। कम्पनीका अनुसार यो विशेष मूल्य पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ।

प्रोटोन ई–मास ५ अत्याधुनिक प्रविधि र आधुनिक सुविधासहित नेपाली उपभोक्तालाई लक्षित गर्दै बजारमा ल्याइएको कम्पनीको दाबी छ। यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, ७० लिटर क्षमताको फ्रङ्क (अगाडिको सामान राख्ने स्थान) तथा ३७५ लिटरको बुटस्पेस उपलब्ध छ। कम्पनीका अनुसार यो गाडी दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रासम्म सहज र आरामदायी हुने गरी डिजाइन गरिएको हो।

ई–मास ५ ले मलेसियाको प्रतिष्ठित अलायन्स डीएसएफ ‘सवारीसाधन अफ द इयर–२०२६’ अन्तर्गत ‘वर्षको उत्कृष्ट विद्युतीय कम्प्याक्ट सवारी’ पुरस्कार समेत जितिसकेको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ई–मास ५ को आगमनसँगै नेपालमा विद्युतीय सवारीसाधनको विस्तारमा नयाँ अध्याय सुरु भएको बताए। उनले अत्याधुनिक प्रविधि, उत्कृष्ट सुविधा, किफायती मूल्य र भरपर्दो गुणस्तरका कारण यो गाडी नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, प्रोटोन इन्टरनेसनलका उपनिर्देशक ली झिदानले ई–मास ५ को प्लेटफर्ममा आधारित सवारी विश्वभर ६ लाख १० हजारभन्दा बढी ग्राहकले प्रयोग गरिसकेको जानकारी दिए। उनले नेपाल प्रोटोनको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै जगदम्बा मोटर्ससँगको सहकार्यमार्फत नेपाली उपभोक्तालाई विश्वस्तरीय विद्युतीय सवारी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

नेपालमा विद्युतीय सवारीको माग निरन्तर बढिरहेका बेला प्रोटोनको नयाँ ई–मास ५ ले प्रतिस्पर्धात्मक मूल्य, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तरका साथ ईभी बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।

emas5_3-1784619206.jpg

सम्बन्धित समाचार