अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले एक खर्ब रुपैयाँ तान्दै

1k Shares

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८३ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार बोलकबोल प्रक्रिया आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ भने निक्षेप सङ्कलन उपकरणको निष्कासन पनि आजै गरिनेछ।

यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ। निक्षेपको साँवा र ब्याज २०८३ असोज २७ गते एकमुष्ट भुक्तानी गरिने व्यवस्था गरिएको छ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। एउटै बैंक वा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिँदै एक खर्ब रुपैयाँसम्मका प्रस्ताव स्वीकृत गरिनेछ। एउटै ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ प्रणालीका आधारमा बाँडफाँट गरिनेछ। साथै, सम्पूर्ण वा आंशिक बोल स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणलाई लगानी पोर्टफोलियोका रूपमा गणना गरिने जनाएको छ। यसमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ। साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा नहुने स्पष्ट पारिएको छ।

सम्बन्धित समाचार