बर्डफ्लुको असरपछि अण्डाको मूल्य बढ्यो, उत्पादन घट्दा बजारमा महँगियो

2.3k Shares

काठमाडौं। बर्डफ्लुको प्रभावका कारण घटेको अण्डा उत्पादन र बढ्दो मागसँगै बजारमा अण्डाको मूल्य बढ्न थालेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५० रुपैयाँले बढाएको जनाएको छ।

संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुका कारण उत्पादनमा उल्लेख्य गिरावट आएपछि आपूर्ति घटेको र पछिल्लो समय माग बढ्न थालेसँगै मूल्य समायोजन गरिएको बताए।

उनका अनुसार यसअघि दैनिक करिब ४५ लाख गोटा अण्डा उत्पादन हुने गरेकामा बर्डफ्लुको प्रभावपछि उत्पादन घटेर करिब २८ लाख गोटामा सीमित भएको छ।

पोखरेलले जेठको अन्तिमतिर एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँ पुगे पनि त्यसपछि घटेर ४५० रुपैयाँसम्म झरेको बताए। उनका अनुसार एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा अर्थात् प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ।

मूल्य वृद्धि भए पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य प्राप्त गर्न नसकेको उनले बताए। निकट भविष्यमा लागत मूल्य प्राप्त हुने अपेक्षा रहेको उल्लेख गर्दै बर्डफ्लुबाट प्रभावित किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने उनको माग छ।

सम्बन्धित समाचार