काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। २४ वर्षीय रोजर्सलाई चेल्सीले एस्टन भिल्लाबाट १५ करोड ६५ लाख अमेरिकी डलरमा भित्र्याएको हो। उनले चेल्सीसँग सन् २०३३ सम्मका लागि दीर्घकालीन सम्झौता गरेका छन्।
प्रिमियर लिगका उदयीमान फरवार्डका रूपमा परिचित रोजर्स नयाँ प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा चेल्सीले गरेको तेस्रो अनुबन्ध हुन्। यसअघि क्लबले मार्को पलेस्ट्रच र जियाभानी क्वेन्डालाई पनि टोलीमा आबद्ध गरिसकेको छ।
यसै महिना म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टबाट एलिट एन्डरसनलाई १५ करोड ५० लाख अमेरिकी डलरमा अनुबन्ध गरेको थियो।
प्रिमियर लिग इतिहासकै सबैभन्दा महँगो स्थानान्तरण भने लिभरपुलका स्ट्राइकर एलेक्जान्डर इसाकको नाममा रहेको छ। लिभरपुलले उनलाई न्युकासल युनाइटेडबाट भित्र्याउन १६ करोड ७० लाख अमेरिकी डलर खर्च गरेको थियो।