काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ अनुसार विभागीय कारबाहीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी लोक सेवा आयोगसँग परामर्श मागेको थियो।
आयोगबाट प्राप्त परामर्शका आधारमा ऐनको दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागू गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध आवश्यक विभागीय कारबाही सम्पन्न भइसकेको छ भने निर्णयबारे लोक सेवा आयोगलाई समेत जानकारी गराइनेछ।
यसैबीच, मन्त्रालय स्रोतका अनुसार यस्तै प्रकृतिका मुद्दामा संलग्न अन्य १४ जना कर्मचारीविरुद्ध पनि विभागीय कारबाही प्रक्रिया जारी रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उनीहरूबारे पनि निर्णय गरिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।