दैनिक एक लाख, महिनामा दुई जनालाई १०–१० लाख दिने सरकारको योजना

2.1k Shares

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीलाई प्रभावकारी बनाउन सक्कली बिल लिने ग्राहकलाई नगद पुरस्कार दिने ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याउने भएको छ।

सरकारले तयार गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३’ अनुसार अब हरेक दिन एक जना नेपाली नागरिकलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रत्येक महिनामा दुई जना विजेतालाई १०–१० लाख रुपैयाँ बम्पर पुरस्कार दिइने व्यवस्था गरिएको छ।

यस योजनामा भ्याट वा प्यानमा आबद्ध व्यवसायबाट एक सय रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिने ग्राहक सहभागी हुन सक्नेछन्। नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीपछि प्राप्त सक्कली बिलको नम्बरकै आधारमा विजेता छनोट गरिने जनाइएको छ।

सरकारले उपभोक्तालाई एक सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा वा होटल, रेस्टुरेन्टलगायत सेवा लिँदा अनिवार्य रूपमा सक्कली बिल लिन आग्रह गरेको छ। यसबाट कर छलि नियन्त्रण, कारोबार पारदर्शी बनाउने र कर प्रणालीमा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ।

हालका लागि हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा पुरस्कार घोषणा गरिने व्यवस्था गरिएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनका लागि सरकारले आवश्यक कार्यविधि तयार गरिसकेको जनाएको छ। योजनाको विस्तृत प्रक्रिया, सहभागी हुने मापदण्ड र विजेता छनोटको विधि कार्यविधिमार्फत सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार