एक रुपैयाँको सिक्काको निर्णयलाई भारतीय मिडियाले जोड्यो सीमा विवादसँग

2.5k Shares

काठमाडौं । नेपाल सरकारले एक रुपैयाँको सिक्कामा नेपालको नक्साको सट्टा मुस्ताङस्थित घार गुम्बाको चित्र राख्ने निर्णय गरेपछि भारतीय सञ्चारमाध्यमले त्यसलाई नेपाल–भारत सीमा विवादसँग जोडेर समाचार प्रकाशित गरेका छन्।

भारतीय समाचार माध्यम आज तकले ‘नेपाल पछि हट्यो... नयाँ एक रुपैयाँको सिक्काबाट विवादित नक्सा हटाइने, लिम्पियाधुरा, कालापानी र लिपुलेक विवाद समाधानतर्फ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा नयाँ सिक्काबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा हटाउने निर्णयलाई नेपाल आफ्नो अडानबाट पछि हटेको संकेतका रूपमा व्याख्या गरिएको छ।

आज तकले नेपालले लामो समयदेखि ती क्षेत्रमाथि दाबी गर्दै आएको र भारतले भने आफ्नो अभिन्न भूभाग भएको दाबी गर्दै आएको उल्लेख गर्दै सिक्काको डिजाइन परिवर्तनलाई दुई देशबीचको सीमा विवाद समाधानतर्फको सकारात्मक कदमका रूपमा प्रस्तुत गरेको छ।

यसअघि मन्त्रिपरिषद्को बैठकले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको नक्सा हटाएर मुस्ताङको ऐतिहासिक घार गुम्बाको चित्र राख्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयपछि नेपालभित्र पनि बहस सुरु भएको छ। केहीले नेपालको सांस्कृतिक सम्पदालाई प्राथमिकता दिइएको भन्दै निर्णयको स्वागत गरेका छन् भने कतिपयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा सिक्काबाट हटाउँदा नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी दाबी कमजोर बन्न सक्ने टिप्पणी गरेका छन्।

यद्यपि, सिक्काको डिजाइन परिवर्तनसँगै नेपालको आधिकारिक राजनीतिक वा संवैधानिक नक्सामा कुनै परिवर्तन भएको छैन। लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा यथावत् कायम रहेको छ। यस विषयमा नेपाल सरकारले आफ्नो सीमा सम्बन्धी नीतिमा कुनै परिवर्तन भएको घोषणा गरेको छैन।

यसबीच भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारले भने सिक्काको डिजाइन परिवर्तनलाई नेपाल–भारत सीमा विवादसँग जोडेर फरक ढंगले व्याख्या गरेपछि उक्त विषयले दुवै देशका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा पाएको छ।

सम्बन्धित समाचार