काठमाडौं । सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रस्तावित पदाधिकारीहरूका सम्बन्धमा प्राप्त उजुरीको अध्ययन, उनीहरूले पेस गरेको कार्ययोजनाको वितरण तथा सुनुवाइ प्रक्रियासम्बन्धी विषयमा छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको थियो।
संवैधानिक व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित उम्मेदवारहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति हुने व्यवस्था छ।