काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय लागुऔषध तस्करीविरुद्ध सञ्चालन गरेको दुई छुट्टाछुट्टै विशेष अपरेसनमा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ। एक अपरेसनमा करिब १५ करोड रुपैयाँभन्दा बढी मूल्यको लिक्विड कोकिन बरामद गरिएको छ भने अर्को अपरेसनमा भारतीय लागुऔषध तस्करलाई प्रहरीको गोली लागेपछि नियन्त्रणमा लिइएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार कतार एयरवेजमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्जोन काइसिडोको साथबाट सिलिकनसँग मिसाएर कपडाको आकारमा लुकाइएको चार केजी २८५ ग्राम लिक्विड कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन विमानस्थल पुगेकी भारतको मणिपुरकी ३७ वर्षीया रेबेका पुल्लेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले अन्तरदेशीय तस्करी सञ्जालमार्फत उक्त कोकिन भारत लैजाने तयारी भइरहेको अवस्थामा विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार बरामद गरिएको कोकिनको अवैध बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी छ।
एसएसपी बोहोराले सिलिकनसँग मिसाएर कपडाजस्तै देखिने गरी कोकिन लुकाउने शैली नेपालमा हालसम्म देखिएका नयाँ तस्करी विधिमध्ये एक भएको बताउनुभयो। उहाँले लागुऔषध तस्करीविरुद्ध राज्यले शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थल, खुला सीमा र सहरी क्षेत्रमा निगरानी थप कडा बनाइएको जानकारी दिनुभयो।
यस्तै, अर्को अपरेसनमा भारतको उत्तर प्रदेशका कुख्यात लागुऔषध तस्कर राज सोनीलाई काठमाडौंको कुलेश्वरबाट गोली प्रहार गरी पक्राउ गरिएको छ। ब्युरोका अनुसार भारतबाट ल्याइएको २४ हजार ७०० टेपेनाडोल क्याप्सुल बिक्री भइरहेको सूचनाका आधारमा पछ्याउने क्रममा प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको थियो। त्यसपछि पनि उनी नरोकी प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेपछि दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घाइते सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यस घटनामा उनका सहयोगी बाँकेका निखिल सोनी र सुर्खेतकी शोफिया मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा राज सोनीले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल बोकेका सवारीसाधनमार्फत लामो समयदेखि लागुऔषध तस्करी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनले भरिया प्रयोग गरी लागुऔषध नेपाल ल्याउने र अनलाइन माध्यमबाट भुक्तानी लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
सुरक्षा निकायका अनुसार पछिल्लो समय नेपाललाई कोकिन, हेरोइनलगायत उच्च मूल्यका लागुऔषधको ट्रान्जिट मुलुकका रूपमा प्रयोग गर्ने प्रयास बढ्दै गएको छ। लाओस, म्यानमारलगायतका मुलुकबाट नेपाल हुँदै तेस्रो देशमा लागुऔषध पठाउने प्रयास विगत केही वर्षयता पटक–पटक असफल पारिएको छ।
त्यस्तै, ब्राउन सुगर र विभिन्न फर्मास्युटिकल लागुऔषध भारतबाट तरकारी, फलफूल तथा अन्नका बोराभित्र लुकाएर नेपाल भित्र्याउने प्रवृत्ति बढ्दो रहेको प्रहरीले जनाएको छ। यस्तो तस्करी रोक्न सीमाक्षेत्र र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा अनुसन्धानलाई थप सुदृढ बनाइएको ब्युरोले जनाएको छ।