देशभर मनसुनी प्रभाव, धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

1.8k Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले मंगलबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपात हुन सक्नेछ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार