पुँजी बजार सुधारमा सरकार सक्रिय, लगानीकर्ताको मनोबल बढ्दा नेप्से २७०० माथि

2.1k Shares

काठमाडौं । सरकारले पुँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाउने प्रतिबद्धता जनाएको छ। यससँगै लगानीकर्ताको मनोबलमा सुधार देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ कारोबार दिनपछि पुनः २७०० विन्दुभन्दा माथि पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बिमा तथा पुँजी बजार सुधारका लागि आवश्यक कानुन निर्माण र संशोधन प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त मोडालिटी तय गरी अघि बढाइनेछ भने नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीतिअनुसार कारोबार प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाइनेछ।

छलफलमा सहभागी सरोकारवालाले बैंक तथा वित्तीय संस्थामार्फत ब्रोकर कम्पनीलाई मार्जिन कारोबारका लागि सहज रूपमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उनीहरूले बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा गरेको लगानी कम्तीमा छ महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था हटाउन तथा सेयर धितो कर्जाको सीमा प्राथमिक पुँजीको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्न सुझाव दिएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले सरकारले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण अपनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न विशेष चासो दिएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले निजी क्षेत्रलाई अर्थतन्त्र र रोजगारीको प्रमुख आधारका रूपमा स्वीकार गर्दै नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई बजारमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ।

ढकालले पुँजी बजार विकासका लागि तयार पारिएका मार्गचित्र तथा नीतिगत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो। बैठकमा उठेका राष्ट्र बैंकसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले छिट्टै गभर्नरसँग छुट्टै छलफल गर्ने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो।

निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार बजारमा तरलता, ब्याजदर र समष्टिगत आर्थिक सूचकहरू सकारात्मक भए पनि लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार प्रभावित भएको थियो। पछिल्लो समय देखिएको ‘पर्ख र हेर’को अवस्था अन्त्य गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर रहेको उनीहरूको भनाइ छ।

छलफलमा अर्थ मन्त्रालयसँग व्यक्तिगत लगानीकर्ताले सेयर कारोबारमा बेहोरेको नोक्सानीमा कर समायोजनको व्यवस्था गर्न, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउन, रणनीतिक साझेदारसहित नेप्सेको पुनर्संरचना गर्न तथा गैरआवासीय नेपाली (एनआरएन) लाई पनि नेपालको पुँजी बजारमा लगानी गर्न अनुमति दिनुपर्ने माग गरिएको थियो।

बैठकमा नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो।

सरकारबाट बजार सुधारका सकारात्मक संकेत र लगानीकर्ताको मनोबलमा आएको सुधारसँगै सोमबार नेप्से परिसूचक लगातार पाँचौँ दिन बढ्दै ४१.७० अंकले उकालो लागेर २,७१९.२४ विन्दुमा पुगेको छ। सो दिन पाँच अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जसले बजारमा पुनः उत्साह फर्किएको संकेत गरेको छ।

सम्बन्धित समाचार